Saturday, May 09, 2020

कम्प्युटरको इतिहास HISTORY OF COMPUTER

कम्प्यूटरको इतिहास- 

पहिलो कम्प्यूटर कहिले र कसले बनायो?

वास्तवमा ‘कम्प्यूटर’ शब्दले ठूलो इतिहास बोकेको छ। पहिले पहिले क्याल्कुलेटर देख्दा पनि अचम्म लाग्थ्यो, गाह्रो हिसाबहरू पनि एकैछिनमा हल गरेको देख्दा त्यही क्याल्कुलेटरको महत्व पनि ठूलो थियो। तर आजभोली कम्प्यूटर शब्दले नौलोपना अनि जिज्ञासा बोक्न छाडिसकेको छ। सबैको साथमा कम्प्यूटर हुन्छ, हात-हातमा स्मार्टफोनको रूपमा मिनीकम्प्यूटर बसेको हुन्छ। तर आजको यो आधुनिक कम्प्यूटर एकैचोटी विकसित भने पक्कै पनि भएको हैन। धेरै चरणको विकासक्रम पार गरेर मात्रै आज खल्तीमा राख्न मिल्ने भएको हो।

के हो कम्प्यूटर ?

कम्प्यूटर भनेको कुनै पनि अङ्कगणितीय तथा तार्किक समस्यालाई स्वतः हल गर्नको लागि बनाइएको एक इलेक्ट्रोनिक सामान हो। यस्ता कतिपय गणितीय समस्याहरूलाई कम्प्यूटरले एकैसाथ र एकैछिनमा हल गर्न सक्दछ। सामान्यतयाः कम्प्यूटरमा २ वटा अङ्ग मूख्य हुन्छन्, सेन्ट्रल प्रोसेसिङ्ग युनिट (Central Processing Unit) र मेमोरी (Memory)। प्रोसेसिङ्ग युनिटले हामीले दिएको अङ्कगणितीय र तार्किक समस्यालाई प्रोसेस गर्दछ भने, त्यसबाट निस्केको नतिजालाई मेमोरीले साँचेर राख्दछ।

तर आधुनिक कम्प्यूटरमा जटिल समस्याको हल गर्नको लागि जटिल किसिमकै अङ्गहरू समावेश गरिएका हुन्छन्।

पहिलो कम्प्यूटरको विकास कहिले भएको थियो?

कम्प्यूटरका विभिन्न प्रकारहरू छन् र यसले गर्दा नै पहिलो कम्प्यूटरको विकास कहिले भएको हो भन्ने प्रश्नको उत्तर सजिलो छैन। सन् १८२२ मा चार्ल्स ब्याबेजले पहिलो ‘मेकानिकल कम्प्यूटर’को विकास गरेका थिए। तर आजभोली जसलाई हामीले कम्प्यूटर ठान्ने गर्छौँ, त्यो जस्तो भने पक्कै पनि थिएन।

त्यसैले आज हामी तपाईँहरूलाई विभिन्न प्रकारका कम्प्यूटरको साथमा हरेकको विकास मिती र निर्माणकर्ताको बारेमा जानकारी दिन गइरहेका छौँ।

१. पहिलो मेकानिकल कम्प्यूटर (FIRST MECHANICAL COMPUTER)

सन् १८२२ मा, चार्ल्स ब्याबेजले आफ्नो ‘डिफरेन्स इन्जिन’ (Difference Engine) को अवधारणाको विकास गरेका थिए र त्यसको निर्माणमा लागेका थिए, जुनलाई संसारकै पहिलो अटोमेटिक कम्प्यूटिङ्ग मेसिन मानिन्छ। उनको यो डिफरेन्स इन्जिनले साधारण किसिमका अङ्कहरूको हिसाब गर्ने र त्यसबाट निस्केको नतिजालाई कागजमा कागजमा लेख्दथ्यो।

डिफरेन्स इन्जिनको विकासको लागि ब्याबेजलाई ‘एडा लभलेस’ले सहयोग गरेकी थिइन्। उनलाई संसारकै सबैभन्दा पहिलो कम्प्यूटर प्रोग्रामरको रूपमा चिनिन्छ। दुर्भाग्यवश, आर्थिक स्थितीले गर्दा ब्याबेजले पूर्णतया काम गर्ने मेसिन बनाउन असमर्थ भए। त्यसपछि सन् १९९१ मा, लण्डन साइन्स म्युजियमले ब्याबेजको जन्मको दुईशताब्दीको अवसरमा ‘डिफरेन्स इन्जिन’को निर्माणलाई पूर्ण गरका थिए र सन् २००० सम्ममा प्रिन्टिङ्ग सिस्टम पनि पुरा गरेका थिए।

सन् १८३७ मा, चार्ल्स ब्याबेजले पहिलो जेनेरल मेकानिकल कम्प्यूटर, ‘एनालाइटिकल इन्जिन’को निर्माणको लागि प्रस्ताव पेश गरेका थिए। यो इन्जिनको अवधारणामा ‘अरिथमेटिक लजिक युनिट’ (Arithmetic Logic Unit- ALU), फ्लो कन्ट्रोल (Flow Control) र मेमोरी समावेश गरिएको थियो, जुनलाई पहिलो जेनेरल पर्पस कम्प्यूटरको रूपमा मानिन्छ। फेरि पनि चार्ल्सको आर्थिक स्थितीले गर्दा उनी जिउँदो रहुन्जेल यो कम्प्युटरको निर्माण सफल हुन सकेन। त्यसपछि, सन् १९१० मा, चार्ल्स ब्याबेजको कान्छा छोरा ‘हेनरी ब्याबेज’ले उक्त मेसिनको केही भाग मात्रै निर्माण गर्न सफल भएका थिए।

२. पहिलो प्रोग्रामेबल कम्प्यूटर (FIRST PROGRAMMABLE COMPUTER)

जर्मन नागरिक ‘कोनराड ज्युस’ (Konrad Zuse) ले सन् १९३६ र १९३८ को बीचमाआफ्नो अभिभावकको कोठामा ‘जेड वन’ (Z1) को निर्माण गरेका थिए। यसलाई पहिलो ‘इलेक्ट्रोमेकानिकल बाइनरी प्रोग्रामेबल कम्प्यूटर’ (Electromechanical Binary Programmable Computer) को रूपमा मानिन्छ, र यो नै पहिलो आधुनिक कम्प्यूटर थियो जसले राम्रोसँग काम गर्न सक्थ्यो।

३. पहिलो आधुनिक कम्प्यूटरको अवधारणा (FIRST CONCEPT OF MODERN COMPUTER)
सन् १९३६ मा ‘एलन ट्युरिङ्ग’ले ‘ट्युरिङ्ग मेसिन’ (Turing Machine) को प्रस्ताव पेश गरेका थिए र यही प्रस्ताव नै अझसम्म कै कम्प्यूटर प्रविधीको पुर्वाधार बन्न पुग्यो। यो मेसिनले, मानिसले कुनै पनि तार्किक समस्यालाई जसरी क्रमैसँग हल गर्दै जान्छ, त्यसरी नै एउटा कागजमा क्रमैसँग विभिन्न सङ्केतहरू प्रिन्ट गर्ने गर्दथ्यो। एलन ट्युरिङ्गको यो अवधारणा बिना आजको आधुनिक कम्प्यूटरको विकास सम्भव थिएन।

४. पहिलो इलेक्ट्रिक प्रोग्रामेबल कम्प्यूटर (FIRST ELECTRIC PROGRAMMABLE COMPUTER)

सन् १९४३ मा ‘टमी फ्लावर्स’ (Tommy Flowers) ले पहिलो इलेक्ट्रिक प्रोग्रामेबल कम्प्यूटर ‘कोलोसस’ (Colossus) को निर्माण गरेका थिए। दोश्रो विश्व युध्दको क्रममा जर्मनको गुप्तीकरण गरिएको सन्देशहरूलाई सुन्नको लागि यो ‘कोलोसस’ कम्प्यूटरको प्रयोग गरिएको थियो।

५. पहिलो डिजिटल कम्प्यूटर (FIRST DIGITAL COMPUTER)

सन् १९३७ मा प्रोफेसर ‘जोन भिन्सेन्ट एटेनासफ’ (John Vincent Atanasoff) र उनको विध्यार्थी ‘क्लीफ बेरी’ (Cliff Berry) मिलेर ‘ए.बि.सी.’ (ABC- Atanasoff-Berry Computer) को निर्माण सुरु गरेका थिए। यसको निर्माणकार्य सन् १९४२ सम्म पनि चलिरह्यो।

यो ए.बि.सी. मेसिन विध्युतीय कम्प्यूटर थियो र डिजिटल हिसाबहरू गर्नको लागि ‘भ्याक्युम ट्युब’ (Vacuum tubes) को प्रयोग गरिएको थियो। डिजिटल हिसाबमा बाइनरी गणित र बुलियन लोजिक पर्दछ र यसमा सिपियू भने राखिएको थिएन।

यसरी नै, सन् १९४३ मा ‘जे. प्रेस्पर एकेर्ट’ (J. Presper Eckert) र ‘जोन मकली’ (John Mauchly) ले ‘युनिभिर्सिटी अफ पेन्सलभेनिया’मा ‘एनियाक’ (ENIAC) को निर्माण कार्य सुरु गरेका थिए र सन् १९४६ सम्ममा पनि निर्माण सम्पन्न भएको थिएन। यस मेसिनले करीब १८०० वर्ग फिटको क्षेत्रफल ओगटेको थियो र करीब १८,००० वटा भ्याक्युम ट्युबको प्रयोग गरिएको थियो, जसको तौल लगभग ५० टन रहेको थियो।

No comments:

Post a Comment